logo
  • १७ आश्विन २०८१, बिहीबार | Thu, 03 Oct 2024
  • कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

    • khojnepal khojnepal
    • १३ आश्विन २०८१ आईतवार
    कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

    काठमाडौं । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारीअनुसार असोज ११ देखि १३ गतेसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठजना बेपत्ता भएका छन् ।

     

    यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका छन् । भौतिक संरचनातर्फ १९ पक्की घरमा पूर्ण, ५८ मा आंशिक क्षति र अन्य घरतर्फ ३९ मा पूर्ण, ३३ आंशिक तथा १३ गोठ, ६ सरकारी कार्यालय, चार सवारी साधन, १३ वटा पुल तथा कल्र्भटमा क्षति हुनुका साथै ५४२ घरधुरी प्रभावित भएका कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालले जानकारी दिए ।

     

    मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको सूचना अधिकारी दाहालले बताए । उनकानुसार बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको हो ।

     

    बाढीपहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छभने यहाँ उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अबरुद्ध रहेको सूचना अधिकारी दाहालले बताए ।

     

    अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । यस्तै, घाइते हुनेमा झापामा दुई, पाँचथरमा पाँच, धनकुटामा दुई, तेह्रथुममा एक, खोटाङमा एक गरी १३ जना रहेका छन् । झापाका दुई, पाँचथरका पाँच, मोरङका एकजना बेपत्ता भएका जनाइएको छ ।

     

    यस्तै, सबैभन्दा बढी झापामा तीन सय चार, मोरङमा एक सय २०, सुनसरीमा ४९, धनकुटामा २३, तेह्रथुममा ११ र उदयपुरमा २१ घर प्रभावित भएका छन् । झापामा ५२३, मोरङमा ४८७, सुनसरीमा ३५८ र खोटाङमा ११९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

     

    बाढीपहिरो र डुबानमा परेका नागरिकलाई थप क्षति हुन नदिन प्रदेशभरिमा १ हजार ९२ सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसक्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गरिएको थियो ।

     

    प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए ।



    khojnepal khojnepal    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP