काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी, पहिरो र विपद्मा परी घाइते भएकालाई नि:शुल्क उपचार गर्न निर्देशन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गरी सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराए । प्रदेश, जिल्ला र स्थानीय तहका दु्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ ।
हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया