काठमाडौँ । चाडपर्वलाई लक्षित गरी आगामी शनिबारदेखि सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो।
बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशकरप्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए। उनका अनुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ।
‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न र सम्बन्धित काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्ने, सवारी चालकले यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्नेरगराउने निर्णय गरिएको छ,’ प्रवक्ता पनेरुले भने, ‘अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्नेरगराउने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको छ।’
यसैगरी यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ।
प्रतिक्रिया