काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा जिरुनाविरुद्ध ४–१ को सहज जित निकालेको छ ।
आइतबार जिरुनाको मैदान मोन्टिलिभीमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन युवा फरवार्ड लामिन यमलले दुई गोल गरे । यस्तै, पेड्री र यसै सिजन क्याटालन जायन्टमा अनुबन्धित भएका ड्यानी ओल्मोले समान एक गोल थपे ।
घरेलु टिमका क्रिस्थियन स्टुएनीले एक गोल फर्काए । खेलको ३०औँ मिनेटमा यमलको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसको सात मिनेटपछि यमलकै गोलमा पाहुना टिमले अग्रता दोब्बर बनायो । ४७औँ मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोनाले अग्रतालाई ३–० मा पुर्याएको थियो । ६४औँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रतालाई ४–० मा पुर्याए ।
खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी हुँदा घरेलु टिमका स्टुएनीले सान्त्वना गोल फर्काएका थिए । ८६औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । फेरान टोरेसले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि बार्सिलोनाले १० खेलाडीमा खेलको अन्त्य गरेको हो ।
जारी सिजन हेन्सी फ्लिकको प्रशिक्षणमा क्याटालन क्लब अपराजित छ । बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडको भन्दा चार अंक धेरै हो । समान खेलबाट रियालले ११ अंक जोडेको छ । लिगमा दोस्रो हार बेहोरेको जिरुना भने सात अंकसहित तालिकाको सातौँ स्थानमा छ
प्रतिक्रिया