उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आइतबारदेखि सुरु भएको छ । सप्तकोशी नदी किनारमा बेलका रिसोर्टमा सुरु बैठक सोमबारसम्म चल्नेछ । बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ ।
पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको राय सुझाव लिने र सम्बोधन गर्ने गर्नुभएको छ ।
माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । प्रदेश १ को बैठक सकिएपछि लगत्तै मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक आयोजना गर्ने माओवादी तयारी छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादीको केन्द्रीय बैठक भएको बेलका रिर्सोट कस्तो ठाउँ हो ?
माओवादी केन्द्रको बैठक स्थल बेलका रिर्सोट पुर्वमा नमुना मानिन्छ । यस रिसोर्टमा पार्टी बैठकदेखि, विभिन्न संघसंस्थाका कार्यक्रम आयोृजना हुने गरेका छन् । यस्तै सप्तकोशी नदी किनारमा रहेर मनोरम दृश्यको अवलोकन यस रिसोर्टबाट गर्न सकिन्छ ।
नदी किनारमा रहेको प्राकृतिक शैलीको वातावरण भएको यस होटेलमा देशका विभिन्न ठाउँबाट विभिन्न खानाको परिकारको स्वाद लिन, नदीको मोटरबोट, डुंगा शयरदेखि जंगल सफारीका लागि मानिसहरु आउने गरेका छन् ।
अझ गर्मीको समयमा यो ठाउँमा रहँदा छुट्टै आनन्दको महसुस हुने गर्छ । पछिल्लो समय युवायुवतीहरु टिकटक, युट्युब , फेसबुक भिडियो बनाउनेदेखि व्यक्तिगत फोटो भिडियो बनाउन यस रिसोर्टमा आउने गरेका छन् ।
प्रतिक्रिया