logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

सयपत्री फूल बेचेर स्याङ्जाका एक किसानले कमाए पाँच लाख

  • khojnepal khojnepal
  • २२ कार्तिक २०८१ बिहीबार
सयपत्री फूल बेचेर स्याङ्जाका एक किसानले कमाए पाँच लाख

काठमाडौँ । स्याङ्जाका एक किसानले दशैंतिहारको अवधिमा सयपत्री फूल बेचेर पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका-१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गरेका हुन् ।

 

उनले दशैं तथा तिहार अवधिमा माला एक हजार ८४५ गोटा र फूल एक हजार ३७६ केजी बिक्री गरेका हुन् । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६०० गरी कूल चार लाख ९१ हजार ६०० आम्दानी गरेको उनले बताए ।

 

भण्डारीले फूलका थुङ्गा प्रतिकेजी २५० देखि तीन सय र माला प्रतिगोटा १५० सम्म बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायत बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए । ‘माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौं’, उनले भने, ‘सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौं ।’

 

बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको व्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए ।

 

पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन् । ‘फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ’, रामचन्द्रले भने, ‘अब उत्पादन हुनेमध्येको केही फूलको माग भई आएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायत धार्मिक तथा मेला महोत्सवमा खपत हुने छ ।’

 

दशैंतिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै पाँच लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरूपमा फूलखेती थालेका हुन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरूपमा फूल खेती गरेका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन थालेका हुन् ।



khojnepal khojnepal    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP