logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

  • khojnepal khojnepal
  • १९ कार्तिक २०८१ सोमबार
छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

काठमाडौं ।  सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ । विजयादशमी र दीपावली सकिएलगत्तै छठ पर्व शुरू भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् ।

 

सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका-३ निवासी लालु रजकले बताए । यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र अशोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको उनले जानकारी दिए ।

 

ग्रामीण क्षेत्रका जलाशयहमा समेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ । हनुमानगर बजारमा युवा आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताए । भारदहस्थित कोशी ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ ।

 

यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न शहरका सर्वसाधारण छठ पर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन् । छठ शुरू भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुञ्जिन थालेका छन् ।

 

छठमा प्रयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ ।

 

मूल्यवृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यताका लागि यो पर्व मनाइने गरिन्छ ।

 

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य रहेको पाइन्छ ।



khojnepal khojnepal    
  • १९ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP