logo
  • ८ माघ २०८१, मंगलवार | Tue, 21 Jan 2025

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

  • khojnepal khojnepal
  • ८ कार्तिक २०८१ बिहीबार
बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

काठमाडौँ । बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

 

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उनले बताए । उनले भने, “सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ ।”

 

बेलभन्ज्याङ- बानियाँटार सडकमा रु एक करोड, रिमाल्नी-भुडाटार जाने सडकमा ५० लाख रुपैयाँ, बन्दीपुर-ढाडखोला मोटरमार्गअन्तर्गत भुमर्से-हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा ५० लाख रुपैयाँ, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा  दुई करोड रुपैयाँ, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा ५० लाख रुपैयाँको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी दिए ।

 

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टुँडिखेल जाने बाटो कालोपत्र भएको छ । अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिए ।

 

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा दुई करोड रुपैयाँको कालोपत्रको काम यथाशीघ्र सुरु गरिने थापाले जानकारी दिए । उनका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म दुई करोड रुपैयाँको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म एक करोड रुपैयाँको लागतमा बाटो स्तरोन्नति भइरहेको छ ।

 

सङ्घीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ २० करोड रुपैयाँ बजेट प्राप्त भएको र उक्त बजेटबाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।



khojnepal khojnepal    
  • ८ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP