logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

यात्रुको चाप बढ्दै गएपछि हवाई उडान सङ्ख्या थपियो

  • khojnepal khojnepal
  • १७ आश्विन २०८१ बिहीबार
यात्रुको चाप बढ्दै गएपछि हवाई उडान सङ्ख्या थपियो

काठमाडौँ, १७ असोजः हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।

श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाडौँ–नेपालगञ्ज–काठमाडौँमा एक–एक उडान थपेको छ । साथै असोज १८ गतेदेखि काठमाडौँ–जनकपुर–काठमाडौँ गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पु¥याइरहेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मङ्गलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।



khojnepal khojnepal    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP