काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन शुरू गर्न पहल थालिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहितको टोलीले बुधबार स्थलगत भ्रमण गरी पहल थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत शुक्रवार र शनिवारको अविरल वर्षापछि आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रूम भवन र त्यहाँ रहेका उपकरण पूर्ण रुपमा क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ । डिस्यान्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्य्रान र ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुईवटा पोखरीमध्ये प्रत्येकमा ७५-७५ हजार घनमिटर लेदो, ढुङ्गालगायत थुप्रिएको अनुमान गरिएको छ ।
कन्ट्रोल रूम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । पहिरोबाट कन्ट्रोल रूममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा बुधवारसम्म पनि अझै माथिबाट लेदो आइरहेको र ढुङ्गासमेत खसिरहेको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रवार साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाँधबाट डिस्यान्डरबीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री तामाङ, सचिव सुरेश आचार्य, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञसमूहसहित मङलबार आयोजनास्थल पुगी पहिरोले पुर्याएको क्षतिका जानकारी लिएको थियो ।
टोलीले संरचनाको मर्मत सम्भार गरी विद्युतगृह सञ्चालन गर्ने विभिन्न विकल्पबारे विज्ञसमूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको प्राधिकरणले जनाएको छ । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयर पनि सहभागी थिए ।
राज्यमन्त्री तामाङले माथिल्लो तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिट्टो शुरू गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया