काठमाडौं । ललितपुर जिल्लामा असोज १२ गतेको बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको हो । ललितपुर प्रहरीका अनुसार ललितपुर जिल्लामा अझै १० जना सम्पर्कविहीन छन् ।
मृतकमध्ये एकैपरिवारका चार सदस्यसमेत छन् । प्रहरीका अनुसार माहाँकाल गाउँपालिका-२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको छ । साेही गाउँपालिका लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि मृत्यु भएको छ ।
यसैगरी माहाँकाल गाउँपालिका-३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव फेला परेको छ । उनी असोज १२ गतेदेखि बेपत्ता थिए । उनका आमा र श्रीमती सम्पर्कविहीन छन् ।
बाढी पहिरोमा परी तीन जना घाइते छन् । घाइतेमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ बस्ने ६ वर्षीया मेघना साह, गोदावरी नगरपालिका ७ बस्ने ३४ वर्षीया ठुलीमाया रुम्बा र काठमाडौं महानगरका ३१ घर भई हाल ललितपुरको बागमती गाउँपालिका ४ प्युटार बस्ने ४५ वर्षीय भूषण अर्याल छन् ।
उनीहरुको अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया