काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०० सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौंबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए ।
‘आजदेखि काठमाडौं उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्,’ उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।’
प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरे । ‘अबरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ,’ उनले भने, ‘अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।’
प्रतिक्रिया