logo
  • २१ कार्तिक २०८१, बुधबार | Wed, 06 Nov 2024

प्रचण्डलाई सडकबाट कांग्रेसकाे सन्देश– सिंहदरबार घेर्ने अवस्था नआओस्

  • khojnepal khojnepal
  • १३ जेष्ठ २०८१ आईतवार
प्रचण्डलाई सडकबाट कांग्रेसकाे सन्देश– सिंहदरबार घेर्ने अवस्था नआओस्

सहकारी ठगी प्रकरणकाे छानबिनका लागि लगातार सदन अवराेध गर्दै आएकाे प्रमुख विपक्षी दल नेपाली कांग्रेस आइतबारदेखि सडकमा ओर्लेकाे छ । कांग्रेसले आज काठमाडाैंमा विराेध प्रदर्शन गर्‍याे । सदनमा लगातार वेल घेराउ गरे पनि सभामुख देवराज घिमिरेले संसद बैठक कार्यसूचीमा अघि बढाइरहेका छन् ।

बैठककाे कार्यसूचीमा विशेष समय र शून्य समय राखिएकाे छैन । नाराबाजी र वेल घेराउकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । मार्सल लगाएरै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार पारित गराए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र प्रमाण नष्ट गर्न सक्ने भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बीच सरकारले नीति तथा कार्यक्रम पास गराएकाे छ ।  १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेस गरेका थिए । आजको बैठकमा सभामुख घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका चार जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइयो ।

चित्रबहादुर केसी– राष्ट्रिय जनमोर्चा, प्रेम सुवाल– नेमकिपा, विष्णुप्रसाद पौडेल– एमाले, जनार्दन शर्मा– माओवादी, स्वर्णिम वाग्ले– रास्वपा, वीरेन्द्रप्रसाद महतो– जसपाले नीति तथा कार्यक्रमको छलफलमा भाग लिए । कांग्रेसको यसमा कुनै भूमिका देखिएन ।

कांग्रेसले आइतबारदेखि सडक प्रदर्शन थालेकाे छ । सरकारले संसदमा बोल्न निषेध गरेपछि बोल्ने विकल्प सडक पनि छ भन्दै कांग्रेस सडकमा निस्केको हो । आइतबार प्रदर्शनीमार्गमा विरोधसभा राखेको थियो । सभाका प्रमुख वक्ता थिए महामन्त्री विश्वप्रकाश शर्मा । उनले भिडलाई सोधे, ‘यो भिड बालुवाटार र सिंहदरबारमा प्रदर्शन गर्न जान तयार छ ?’ भिडले तयार नभएको जवाफ दिने कुरै भएन ।

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदल बनाइएको छ । जहाँ मन्त्री लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा विवाद छ । सत्तारुढ दल एमाले नाम राख्न नहुने र अलिहेसम्मका संसदीय समितिमा नाम नराखिएकाले गलत नजिर बसाउन नहुने अडानमा छ ।

आइतबार कांग्रेसले गरेको विरोधसभामा महामन्त्री शर्माले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओली चार कारणले गर्दा सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्न तयार छैनन् ।’

महामन्त्री शर्माका अनुसार पहिलो कारण सत्ताको गणित हो । दोस्रो, रविलाई देखाएर एमाले पार्टी पंक्तिलाई जोगाउने ध्यानमा अध्यक्ष ओली रहेका छन् । तेस्रो भनेको सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरीबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली रहेका छन् ।

चौथो कारण, त्यो मिसन २०८४ सँग सम्बन्धित रहेको शर्माले बताए । ओलीले नयाँ दललाई अर्को चुनावसम्म कमजोर बनाउन खोजेको पनि शर्माको भनाइ छ । उनले मिसन २०८४ भनेर दुई दल मात्र हिँडेको बताए ।

महामन्त्री शर्माले कांग्रेसले खोजेका चार कुरा सम्बोधन हुँदा गतिरोध अन्त्य हुने बताए । ‘सरकार अनुदार व्यवहारबाट सच्चिनुपर्छ । अहिलेको सरकार अनुदार शैलीमा छ । संसदमा जुन ढंगले प्रस्तुत भएको छ, सरकारले यो शैलीलाई बदल्नुपर्छ र अनुदार शैलीलाई सरकारले सच्याउनुपर्छ,’ उनले भने ।

दोस्रो, प्रधानमन्त्री गठबन्धनको छाया बन्ने अवस्थाबाट मुक्त हुनुपर्ने शर्मा बताउँछन् । ‘प्रधानमन्त्रीजीले प्रतिपक्षीलाई आरोप लगाउने, सहकारीबन्धु गठबन्धनमा छायाँ बन्नेजस्तो दुब्लो अवस्थाबाट मुक्त बन्नुपर्छ,’ शर्माले भने ।

तेस्रो भनेको सभामुख घिमिरेसँग जोडिएको विषय भएको शर्माको भनाइ छ । ‘सभामुखबाट पदीय गरिमा र मर्यादाको पालना भएको छैन, सभामुख रिमोट कन्ट्रोलबाट मुक्त हुनुपर्छ,’ उनले भने ।

चौथो भनेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषय रहेको शर्माले बताए । ‘सहकारी ठगीमा मुछिएका गृहमन्त्रीमाथि गहिरो ढंगबाट संसदीय छानबिन हुनुपर्छ । यति भयो भने मात्र अहिलेको समस्या समाधानतर्फ जान्छ,’ उनले भने । भाषणको सुरुबाटै कार्यकर्तालाई बालुवाटार र सिंहदरबार घेर्न तयार हो भनेर सोधेका महामन्त्री शर्माले अन्त्यमा बालुवाटार र सिंहदरबार घेर्न आउने वातावरण तयार नपार्न प्रधानमन्त्रीलाई आग्रह गरे ।



khojnepal khojnepal    
  • १३ जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP