logo
  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

दसैँ उदात्त संस्कृतिको विराट आयाम

  • khojnepal khojnepal
  • २१ आश्विन २०८१ सोमबार
दसैँ उदात्त संस्कृतिको विराट आयाम

बसन्त-शरदावेव सर्वनास करावुभौ ।
तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।।

 

वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दसैंँको भावमा सुगन्धित हुन थालेको छ । देशको सबैभन्दा ठूलो यो पर्वले फेरि एकपटक सम्पूर्ण नेपालीलाई एउटा आत्मियताको मालामा गाँसेको आभाष छाएको छ ।

 

वसन्त अनि वर्षा ऋतु र शारदीय मौसमको आरम्भसँगै एउटा भव्य सांस्कृतिक सुगन्ध छाउँछ दसैंँको । यो श्लोकमा दसैँको सांस्कृतिक, प्राकृतिक अनि मानवीय संस्कारको एउटा आदिम साइनो गाँसिएको छ । यसको अर्थ हुन्छ, वसन्त अनि वर्षायामसँगै शारदीय मौसम सुरु भएसँगै चण्डीपाठ गर्दा त्यो बीचमा भएका अनि आउँदा सङ्कट पनि सबै नाश भएर जान्छन् भन्ने मान्यता हो ।

 

दसैंँको सांस्कृतिक पक्ष अर्थात यो पर्वमा हुने पूजाआजा त्यही मान्यताका आधारशीला हुन् । हिन्दूकुश हिमालय पर्वतको काखमा अवस्थित नेपाल राज्य स्थापनाका आफ्नै वैदिक अनि परम्परागत मान्यता छन् । उसै पनि अध्यात्मिक पवित्र भूमिका रुपमा चिनिने नेपाल राज्यमा सनातनदेखि नै दसैंँको परम्परा सुरु भएको देखिन्छ । नेपालको इतिहासमा लिच्छविकालको सुरुआतदेखि नै यस्ता वैदिक सनातन संस्कार प्रचलनमा आएको देखिन्छ । यहाँको आदिमानव सभ्यतामा वैष्णव, शैव, शात्तललगायत धर्ममा गरिने देवीको पूजाआजाको धार्मिक परम्परा नै दसँैंँका रुपमा स्थापित हुँदै गएको पाइन्छ ।

 

यद्यपि, यसका अनेक किंवन्दती छन् । यसका वैदिक अनि धार्मिक मान्यता छन् र यसका आ-आफ्नै मौलिकता छन् । धर्म अनि परम्पराबाट अलि परबाट हामीले यसलाई महसुस गर्यौं भने दसैँ एउटा सामाजिक उत्सव पनि हो । जहाँ नेपाली समाजको विविधताबीच एकता पनि झल्किन्छ । अनेक विविधताले भरिएको नेपालमा हरेक पर्व मनाउने सबैका आ-आफ्नै तरिका छन् । संस्कार अनि परम्परा छन् । तथापि हरेक पर्व अनि उत्सवहरूले दिने सन्देशमा भने तात्विक अन्तर देखिन्छ ।

 

अर्थात हरेक पर्वले सामाजिक र सांस्कृतिकसँगै एउटा मानवीय सन्देश पनि दिइरहेका हुन्छन् । जो अन्ततः मानव जाति र प्रकृतिको चक्रसँग गाँसिएको हुन्छ । दसैंँ पनि त्यस्तै हो । दसैंँ मान्ने तरिका फरक छन्, कसैले टीका लगाउँछन्, कसैले रातो लगाउँछन् त कसैले सेता, कसैले कालो । कसैले मासु खान्छन् कसैले खाँदैनन् । कसैले कस्तो वेष धारण गर्छन्, कसैले कस्तो । जसले जे नाम वा जसरी मनाए पनि दसैंँको महिमा अनि महत्व पनि एउटै हो । यो मानवजाति र प्रकृतिको अन्य सम्बन्ध र पारस्परिक परिचक्रसँग जोडिएको छ । यसको अन्तिम लक्ष्य भनेको मान्छे र प्रकृतिको आदिम साइनो पनि हो, जसको चक्रमा यो सिङ्गो ब्रह्माण्डको अस्तित्व अनादिकालदेखि नै रहिआएको छ ।

धार्मिक किंबदन्तीअनुसार देवीले दैत्यहरूको नाश वा बध गरेपछि त्यसलाई उत्सवका रुपमा मनाउने क्रममा दसैंँ स्थापित भएको मानिन्छ । त्यसैलाई विजयादशमी पनि भन्ने गरिन्छ । अनि कतिपय शास्त्रमा रामले देवीको पूजा गरेपछि रावणमाथि विजय प्राप्त गरेका मान्यताहरू स्थापित छन् ।

 

हिन्दू परम्परामा मानिँदै आएका कोटीकोटी देवीदेवता वा भगवानमध्ये दसैंँमा खासगरी शक्तिपीठ अर्थात देवीहरूको पूजा हुन्छ । त्यो भनेको दसैंँ असत्यमाथि सत्यको विजयोत्सवका रुपमा पनि लिइन्छ । यस अर्थमा दसैंँलाई शक्ति उपासनाको पर्वका रुपमा लिन सकिन्छ ।

 

हिन्दू शास्त्रमा यसका आ-आफ्नै विधि र प्रक्रिया छन् । जस्तो कि विजयादशमीका बेला हामीले लगाउने टीका, जमरा अनि आर्शीर्वादका पनि आफ्नै मान्यता र अर्थ छन् । यसका वैज्ञानिक व्याख्यातिर नजाने हो भने यी दसैंँका यी सबै अवयवमा मानव सभ्यताका गहिरा अर्थ गाँसिएका छन् । जस्तो कि-दसैँका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दसैंँमा टीका लगाउँदा यसरी आर्शीर्वाद दिने चलन छ ।

 

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

 

यसमा अष्ठ चिरञ्जीविको जस्तो दीर्घायू, राजा दशरथको जस्तो धन सम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान-विज्ञान अनि नारायणको अविनाश कीर्तिको सन्देश गाँसिएको छ ।

 

खासगरी पुरुषलाई दिइने यस्तो आशीर्वादमा मात्रै धर्म वा किंबदन्ती छैनन् । बरु यसमा ज्ञान-विज्ञानका कुरा पनि गाँसिएका छन् । यसरी दसैंँ र यसलाई मनाउने तरिका अनि परम्परामा विज्ञान पनि मिसिएको छ । हामीले दसैंँका बेला अपनाउने कतिपय संस्कार वैज्ञानिक पनि छन् । यी अनुसन्धानले पनि प्रमाणित गरेका कुरा हुन् ।
जयन्ती मङगला काली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते ।।

 

महिलाका लागि टीका, जमरासँगै दिइने यो आशीर्वादको अझ गहिरो अर्थ लाग्छ । यो भनेको हाम्रा सृष्टिका हरेक नारीको सम्मान हो । अर्थात् नारीलाई देवीशक्तिका रुपमा पूजा गर्ने हाम्रो सनातन परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ । यसरी दसैंँले मानव सभ्यता र यसको सृष्टीलाई धर्मका माध्यमद्वार बलियो गरी बाँधेको हुन्छ ।

 

अर्को हिसाबबाट हेर्ने हो भने दसैँका सामाजिक अनि आर्थिक शास्त्र पनि छन् । वर्षायामभरि खेतीपाती सकेर यो समयमा हरेक किसानले आनन्दपूर्वक दसैँ मनाउने गर्छन् । टाढा टाढा रहेका आफन्त अनि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी र आत्मियता साट्ने यो पर्वको आफ्नै सामाजिक मान्यता पनि छन् । यसबेला बजार पनि चलायमान हुन्छ । नयाँ नयाँ सामान भित्र्याउने अनि किनमेलका लागि यो पर्वले राज्यको अर्थबजारलाई पनि गतिशील बनाइरहेको हुन्छ । तसर्थ, दसैंँ आफैँमा धार्मिक पर्व त हो नै, त्यसका लागि सामाजिक अनि आर्थिक हिसाबले पनि दसैंँ एउटा परिवार, समाज मात्रै नभइ सिङ्गो राष्ट्रका लागि पनि महत्वपूर्व अवसर मानिन्छ । योसँगै सुरु हुने तिहार अनि छठपर्वले पनि एकअर्को समुदायलाई धार्मिक र आत्मिक गाथामा बाँधेको हुन्छ । यसबाट हाम्रो सनातन समाजको सहिष्णुता र मिलाप दर्साउँछ । त्यसमा पनि नेपाल आफैँमा एउटा बहुधार्मिक अनि बहुसांस्कृतिक समाज मिलेर बनेको एउटा सार्वभौम र स्वायत्त राष्ट्र हो । त्यसैले पनि यहाँका परम्परा अनि संस्कृतिको पहिचान विश्व माझमै अलग प्रकारको छ ।

 

जे होस् अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय र समाजलाई प्रेमिल बनाउन सघाइरहेका हुन्छन् । त्यसैले पनि नेपाली समाज आफैँमा सभ्यता र संस्कृतिको विराट भूमि पनि हो । दसैंँ, तिहार र छठ पर्वको यो पावन अवसरमा सम्पूर्ण नेपालीमा दीर्घायु, उन्नति अनि समृद्धिको शुभकामना ।



khojnepal khojnepal    
  • २१ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP