काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।
सोमबार प्रेस सेन्टर नेपालले चितवनमा आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए।


प्रधानमन्त्री दाहालले भने,‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।’
रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै प्रचण्डले यसैमा अध्यक्ष रवि लामिछाने अडिन्छन् भन्ने आफूलाई नलागेको बताए।
सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए। रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले भने,‘रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन।’ प्रचण्डले सरकार पाँच वर्ष चल्ने पनि बताएका छन्।
उनले भने,‘सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ की भन्ने भ्रम हो।’ प्रचण्डले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा बसेको बताए। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै प्रचण्डले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।
