काठमाडौं– नयाँ नेपाली फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई मिनेट १४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ । ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले यो फिल्मले सबै किसिमले मनोरञ्जन दिलाउने बताइन् । अभिनेत्री पन्तले फिल्ममा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताइन् । अभिनेत्री पन्तका अनुसार फिल्ममा रिक्स लिएर जोडिएकोसमेत बताइन् ।


लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए । ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखें, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठूलो उपलब्धि थियो’,उनले भने( ‘हामी सुटिङका लागि चितवन जाने तयारी गरिरहँदा निर्माता श्रीधर पौडेलको बोली अस्वस्थताका कारण रोकियो । त्यस्तो तनावको अवस्थामा पनि उहाँले मलाई पूर्ण रुपमा विश्वास गरेर सबै जिम्मेवारी दिनुभयो ।’
निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको खुलाए । ‘उसको स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकी मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यहीकारण बहावको कथाले मलाई छोयो’, उनले भने । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।
अर्का अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ भए पनि व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै सुर्य शर्मा भट्टले आफू युनिभर्सिटीको प्रोफेसर भएको खुलाउँदै पहिलोपटक अभिनय गर्न पाउँदा उत्साहित भएको बताए ।
यो फिल्ममा अभिनेत्री पन्तसँगै कमलमणि नेपाल, अफरन अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । श्रीधर पौडेलद्वारा निर्मित यो फिल्म आगामी चैत २४ गतेदेखि देशभर प्रदर्शन हुनेछ । जिज्ञासा, विचार अनि यथार्थको कथा बोकेको ‘बहाव’ लाई प्रमोद कँडेलले निर्देशन गरेका हुन् ।
फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
