ललितपुर । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सांसद डा. तोसिमा कार्कीले राज्यले हरेक स्वास्थ्यकर्मीलाई सुरक्षाकर्मी तवर तथा सरहको सम्मान दिनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी यूनियन जिल्ला कार्यसमिति ललितपुरले शनिवार आयोजना गरेको ‘सो यूनियनको चौँथो जिल्ला अधिवेशन’ मा बोल्दै उहाँले स्वास्थ्यकर्मी भनेका मुलुकका हरेक व्यक्तिको स्वास्थ्य उपचारका साथै रेखदेख गर्ने पहरेदार रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा स्वास्थ्यकर्मीको अवस्था नाजुक बन्दै गइरहेको हुँदा राज्यले उचित तरिकाको व्यवस्थापन गर्न सकिरहेको छैन् । हामीले उहाँहरुको हितमा थुप्रै काम गर्नुपर्ने देखिन्छ । पेशागत सङ्गठनले राजनीतिक दलभन्दा माथि उठेर स्वास्थ्यकर्मीको सवालमा आफूहरुलाई जानकारी गराउन आवश्यक रहेको कार्कीको बुझाइ रहेको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. सतिश विष्टले स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा दिनरात नभनी थुप्रै काम गरेका प्रसंशा गर्दै उक्त निकायले मानिसमा पर्न सक्ने ठूलो क्षतिबाट जोगाएका जिकीर गर्नुभयो । सो यूनियन केन्द्रीय अध्यक्ष उज्ज्वल कुमार शर्माले विगतमा आफूहरु पार्टी र टेड यूनियनमा लाग्दा स्वास्थ्यकर्मीका लागि खासै काम नभएको धारणा राख्दै विभिन्न पार्टीका साथै राजनीतिक दलमा नलाग्ने उद्घोषका साथ २०६२ ÷०६३ सालको जनआन्दोलनपछि स्वतन्त्र रुपमा सो संस्था खडा गरी काम गरिरहेको मत जाहेर गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुक प्रणालीगत रुपमा अघि बढ्ने गरी सम्बन्धीत निकायले कानुन निर्माण गरिदिनुपर्छ । यस किसिमको व्यवस्था भएमा मुलुक हरेक क्षेत्रमार्फत विकासतर्फ लम्कन पाउनेछ ।” नेपालमा स्वास्थ्यकर्मीको दरबन्दी आवश्यक भन्दा ११ हजार बढि रहेको सुनाउँदै स्वास्थ्य क्षेत्रका साथै स्वास्थ्यकर्मी तर्फ ध्यान दिन निकै जरुरी रहेको शर्माको आग्रह छ । यूनियन भक्तपुर जिल्ला अध्यक्ष मनोज मण्डलले स्वस्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीको हकहितका लागि नेपालमा खासै सोतर्फको व्यवस्थापनको काम नभएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “कोरोना कहरका बेला राज्यले स्वास्थ्यकर्मीलाई दिने भनिएको सुविधा समेत हालसम्म सबैले पाउन सकेका छैनन् । यस अवस्थामा समेत स्वास्थ्यकर्मी खुशी भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।” नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरीशरण थापाले यूनियनले स्वास्थ्यकर्मीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै भावि दिनमा राम्रोसँग अघि बढ्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । यूनियन वाग्मती प्रदेश संयोजक दिल कुमार दुवालले सो निकायका साथै सम्बन्धीत व्यक्ति र क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान गर्न गोलबद्ध भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यूनियनका अध्यक्ष मधुराम केसीले आफू ९ वर्ष सो संस्थाको पदमा रहँदा स्वास्थ्यकर्मीका थुप्रै समस्या समाधानका लागि विभिन्न व्यक्तिका साथै निकायलाई झकझकाएको भनाइ राख्नुभयो । सो यूनियन वरिष्ठ उपाध्यक्ष डिल्लीशेर केसीले मुलुकका स्थानीय तहका प्रमुख भूमिकामा रहेका जिम्मेवार व्यक्तिले स्वास्थ्यकर्मीलाई यो मेरो पार्टी वा म निकट हो या हैन भनेर मुल्याङ्कन गरी व्यवहार गर्ने गरेका आरोप लगाउनुभयो ।


