काठमाडौं, कतारमा जारी विश्वकप प्रतियोगितामा अन्तिम १६ टोली समावेश हुने दोस्रो चरणमा इङ्ग्ल्याण्ड, सेनेगल, अमेरिका, नेदर्ल्यान्ड्स, पोर्चुगल, ब्रजिल र फ्रान्स पुगिसकेका छन् भने बुधवार बेलुकी हुने खेलले आर्जेन्टीनाको भविष्य निर्धारण गर्नेछ।
प्रतियोगिताको आयोजक राष्ट्र कतारसहित क्यानडा र एक्वडोर भने बाहिरिएका छन्।
पहिलो चरणका अन्तिम खेलहरू हुँदै गर्दा अब प्रत्येक समूहबाट कुन कुन देश अगाडि बढ्लान् भन्ने चासो तीव्र भएको छ।
समूह ए
विश्वकप प्रतियोगिताको फाइनलमा तीन पटक पुगिसकेको नेदर्ल्याण्ड्सले कतारलाई २-० ले हराउँदै यो समूहको विजेता बनेको छ।
त्यस्तै एक्वडोरलाई २-१ ले हराउँदै अफ्रिकी मुलुक सेनेगल उसको इतिहासमा दोस्रो पटक नक-आउट चरणमा प्रवेश गर्दैछ।
सन् २००२ मा पहिलो पटक विश्वकप प्रतियोगिता खेल्ने क्रममा सेनेगल क्वार्टर फाइनलसम्म पुगेको थियो।
समूह बी
यो समूहको विजेताको रूपमा इङ्ग्ल्याण्ड दोस्रो चरणमा पुगिसकेको छ।
उसले वेल्सविरुद्ध ३-० ले खेल जितेपछि वेल्स भने बाहिरिएको छ।
यो समूहमा इरानलाई एक गोलले जितेपछि अमेरिका पनि दोस्रो चरणमा पुगेको छ।
अमेरिकासँग बराबरी मात्र गरेको भए इरान दोस्रो चरणमा पुग्ने थियो।
समूह सी
शनिवारको खेलमा साउदी अरेबिया र मेक्सिकोलाई जितेका पोल्याण्ड र आर्जेन्टीना समूहमा अगाडि छन्।
बुधवार यी दुईबिच हुने खेलले यी टोलीको भविष्य निर्धारण गर्नेछ।
पोल्याण्डले बराबरी गरे पुग्छ भने खेल जितेमा आर्जेन्टीना दोस्रो चरणमा पुग्नेछ।
साउदी अरेबियाले मेक्सिकोलाई जितेमा उसले दोस्रो चरणमा प्रवेश पाउनेछ। दुवै खेल बराबरी भए पोल्याण्ड र आर्जेन्टीना नै पुग्नेछन्।
एउटा खेलमा पोल्याण्डले जितेमा अनि दोस्रो खेलमा साउदी अरेबियालाई हराएमा भने मेक्सिको पनि दोस्रो चरणमा पुग्न सक्छ।

समूह डी
डेनमार्कलाई २-१ ले हराउँदा एमबापेले नै दुई गोल गरेर फ्रान्सलाई दोस्रो चरणमा पुर्याए।
ट्युनिसियासँग हुने बुधवारको खेलमा बराबरीमात्रै भएपनि फ्रान्स समूह विजेता नै रहनेछ।
यो समूहबाट फ्रान्सबाहेक बाँकी तीन टोलीको सम्भावना पनि कायमै छ।
डेन्मार्कलाई जितेमा अस्ट्रेलिया अगाडि बढ्नेछ तर बराबरी भए ट्युनिसियालाई फ्रान्समाथि विजयसहित अर्को चरणमा जाने बाटो खुल्छ।
अगाडि बढ्न डेन्मार्कको निम्ति जित्नै पर्ने स्थिति छ। यदि डेन्मार्क र ट्युनिसिया दुवैले बुधवारका खेलहरू जिते भने फ्रान्ससँगै अर्को चरणमा जाने दोस्रो टोलीको निर्धारण गोल अन्तर वा अन्य मापदण्डको आधारमा हुनेछ।
समूह इ
समूह इ मा चारैवटा टोलीको सम्भावना जीवितै छ।
यो समूहका खेलहरू बिहीवार हुनेछन्। जर्मनी र कोस्टारिका अनि जापान र स्पेनबिच खेल हुनेछन्।
खेलमा विजयसहित स्पेन अगाडि बढ्न सक्छ तर बराबरी भयो भने चाहिँ अर्को खेलमा जर्मनीले जिते वा बराबरी भएमात्र स्पेनको निम्ति बाटो खुल्छ।
तर स्पेन हारेमा जापान समूह विजेता हुनसक्छ। त्यसो हुँदा यदि कोस्टारिकाले अर्को खेल जित्यो भने स्पेन समेत बाहिरिन्छ। वा जर्मनीले जिते पनि अहिले ८ रहेको गोल अन्तर परिवर्तन हुने गरि उसले जितेमा स्पेन बाहिरिन सक्छ।
दुवै खेल बराबरी भयो भने जापान समूह विजेता हुनसक्छ।
जर्मनीलाई जितेमा कोस्टारिकाको बाटो खुल्छ। अर्को खेलमा स्पेन र जापानबिच बराबरी भए कोस्टारिका समूह विजेता हुनेछ। तर यदि कोस्टारिका र जर्मनीबिच बराबरी भयो भने चाहिँ अर्को खेलमा स्पेनले जापानलाई हरायो भने पनि कोस्टारिका दोस्रो चरणमा पुग्न सक्छ।
जर्मनी अहिले पुछारमा छ। तर यदि उसले कोस्टारिकालाई जित्यो र अर्को खेलमा जापानले स्पेनलाई जित्यो भने जर्मनी दोस्रो चरणमा पुग्न सक्छ। तर यदि अर्को खेलमा जापानले बराबरी गर्यो भने जर्मनीले आफ्नो खेल कम्तीमा २ गोलको अन्तरले जित्नु पर्छ।
समूह एफ
यो समूहमा क्रोएसिया अहिलेसम्म माथि छ। उसले बेल्जियमसँग जिते वा बराबरी गरे दोस्रो चरण सुरक्षित देखिन्छ।
क्यानडालाई जिते वा बराबरी गरे मोरोक्को पनि अगाडि बढ्न सक्छ।
क्रोएसियालाई जितेमा बेल्जियम दोस्रो चरणमा पुग्न सक्छ। तर क्रोएसियासँग खेल बराबर भए अर्को खेलमा क्यानडासँग मोरोक्को हारेमा गोल अन्तरका आधारमा मात्र बेल्जियमको सम्भावना रहन्छ।
यी खेल बिहीवार हुनेछन्।
समूह जी
पाँच पटक विश्वकपको उपाधि जितिसकेको ब्रजिल दोस्रो चरणमा पुगिसकेको छ।
क्यामरुनसँगको बाँकी खेलमा बराबरी मात्रै गरे पनि ऊ समूह विजेता हुनेछ।
शुक्रवार हुने खेलमा स्वीट्जर्ल्याण्डले सर्वियालाई जितेमात्र दोस्रो चरण पुग्न सक्छ। अर्को खेलमा ब्रजिलले जित्यो भने चाहिँ स्वीट्जर्ल्याण्डको निम्ति बराबरी नै काफी हुन्छ।
सर्विया र क्यामरुनका हकमा जितले मात्र उनीहरूको सम्भावना जोगाउँछ। यदि दुवै टोलीले जितेमा अहिलेसम्मको गोल अन्तरको मापदण्डमा क्यामरुन अलिकति अगाडि छ।
समूह एच
यो समूहबाट पोर्चुगल दोस्रो चरणमा पुगिसकेको छ।
अब शुक्रवार दक्षिण कोरियासँग बराबर मात्र भए पनि पोर्चुगल समूह विजेता हुनेछ।
अहिले दोस्रो स्थानमा रहेको घानाले युरुग्वेलाई जितेमा दोस्रो चरण पुग्नेछ। सो बराबरी भयो भने चाहिँ अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई दुई वा बढी गोलले जित्यो भने मात्र घानाको बाटो थुनिन्छ।
पोर्चुगलले हार्ने र घानाले जित्ने भएमा समूह विजेता गोल अन्तरको आधारमा चयन गरिनेछ।
दक्षिण कोरियालाई दोस्रो चरण पुग्न दुईवटा मार्ग देखिन्छ। दुवै मार्गबाट अघि बढ्न उसले पोर्चुगललाई जित्नै पर्छ।
यदि घाना र युरुग्वेबिच बराबरी भयो भने पोर्चुगललाई उसले दुई गोल अन्तरले जित्नु पर्छ।
यदि युरुग्वे र दक्षिण कोरिया दुवैले आआफ्ना खेल जिते भने चाहिँ गोल अन्तर वा प्रहार गरेको गोल सङ्ख्या निर्णायक हुनसक्छ।
युरुग्वेको निम्ति चाहिँ पहिले घानालाई पराजित गर्ने अनि अर्को खेलमा पोर्चुगल पराजित भएको आश गर्ने – दुवै विषय मिल्यो भने दोस्रो चरणमा जाने। (बीबीसी)